बुटवल । तिलोत्तमा डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको बचत अपचलन छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सारांश प्राप्त भएको छ ।
प्रतिवेदन अनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता भएको देखिएको छ । यस्तै, १२ करोड रुपैयाँ हिनामिना (खाए/मासेको) , २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको अडिट प्रतिवेदनले देखिएको छ ।
सहकारीमा बचतकर्ताको बचत अपचलन भएपछि यसको सत्यतथ्य पत्ता लगाउन ७ जना स्वतन्त्र लेखापरीक्षकहरू खटिएका थिए । तर, अडिट रिपोर्ट सञ्चारमाध्यमलाई दिन आलटाल गरिएको थियो ।
अडिट रिपोर्ट अनुसार, सहकारीले विभिन्न व्यक्तिका नाममा ३४ करोड ७ लाख ५५ हजार ८१४ रुपैयाँ गैरकानुनी ऋण प्रवाह गरेको छ । ऋण प्रवाह गर्दा ९ करोड २८ लाख ३० हजार बराबरको मात्र धितो राखेको छ ।
त्यस्तै, व्यवस्थापक वसन्त पराजुलीले ४ करोड ७० लाख ७६ हजार १२१ रुपैयाँ अनियमितता गरेको अडिट रिपोर्टले औंल्याएको छ । पराजुलीसँग उक्त रकमको ब्याजसहित ४ करोड ८० लाख ९७ हजार असुल्नुपर्ने देखिएको पनि अडिट रिपोर्टमा उल्लेख छ ।
सञ्चालक समितिले ८ करोड २७ लाख ३१ हजार ४७६ रुपैयाँ अनियमितता गरेको हुँदा उक्त रकम समितिले जिम्मा लिनुपर्ने सुझाव पनि अडिट रिपोर्टमा दिइएको छ ।
छानबिन समितिले सहकारीका सञ्चालक समितिका कोषाध्यक्ष र सल्लाहकार समेतलाई अडिट रिपोर्ट बुझाएको १० दिन नाघिसकेको छ । समितिले उक्त अडिट रिपोर्ट सोही दिन प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा बुझाएको थियो ।
अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध किटानी जाहेरी
सहकारीका बचतकर्ताहरूद्वारा गठित छानबिन व्यवस्थापन र समन्वय समितिको तर्फबाट इलाका प्रहरी कार्यालय बुटवलमा सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीविरुद्ध किटानी जाहेरी परेको छ ।
उनीहरूविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
व्यवस्थापक वसन्त पराजुली एक साता प्रहरीको हिरासत बसेर छुटिसकेका छन् भने अध्यक्ष र सचिवविरुद्ध पनि रुपन्देही जिल्ला अदालतले दुई साता अघि नै पक्राउ पुर्जी जारी गरेको थियो ।
तर उनीहरू अहिलेसम्म पक्राउ नपर्दा बचतकर्ताले राजनीतिक संरक्षणको आशंका गरेका छन् । अध्यक्ष तिवारी र सचिव थापा दुवैजना कांग्रेसका स्थानीय नेता हुन् ।
गृहमन्त्री पनि कांग्रेसकै भएकाले राजनीतिक आडमा उनीहरूलाई जोगाउने षड्यन्त्र गरिएको बचतकर्ताहरूको आरोप छ ।
Leave a Reply